उम्मेदवार सुरक्षामा ध्यान देऊ

 

संविधान कार्यान्वयनका लागि हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताकोमा मत माग्न पुगेका छन् । आफ्नो पक्षमा मतदाताले मत माग्दै गर्दा उम्मेदवारहरूमाथि आक्रमणका घटनाहरू भएका छन् । सरकारमा संलग्न भएका पूर्वमन्त्री तथा पार्टी नेताहरूमाथि केन्द्रित भएर गरिएका आक्रमणले उम्मेदवारहरूको सुरक्षामा चुनौती थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर नै भएका आक्रमणको नियन्त्रण गर्न सुरक्षा निकाय कमजोर देखिएको छ । उम्मेदवारको सुरक्षामा कुनै कमी नआउने बताउँदै आएका सुरक्षा निकायका प्रमुखहरूले शृंखलाबद्ध रूपमा भएको आक्रमणमा संलग्नलाई पक्राउ गर्न र कारबाही गर्न सकिरहेका छैनन् । उम्मेदवारमाथि लक्षित गरी भएका आक्रमण र धम्कीको शृंखला नरोकिएपछि राजनीतिक दलहरूले सुरक्षा व्यवस्था कडा गर्न निर्वाचन आयोगमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखसँग उम्मेदवारसहित निर्वाचनमा संलग्न कर्मचारीसम्मको सुरक्षाको विषयमा छलफल गरेको थियो । त्यस्ता छलफलमा सम्पूर्ण सुरक्षा तयारी पूरा भएको र त्यसमा कुनै कमी आउन नदिने उनीहरूको प्रतिबद्धता थियो । उनीहरूको प्रतिबद्धताविपरीत उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भइरहेको छ । उम्मेदवारले आफ्ना मतदातासम्म नै मत माग्न निर्धक्क रूपमा हिँडडुल गर्न सक्ने वातावरण बन्न सकेको छैन । उम्मेदवारहरूले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी माग गरिरहेका छन् । मुलुकमा संविधान नै अपूरो भएको र संसदीय पद्धतिको विरोध गर्दै आएको एक समूहले निर्वाचन बिथोल्ने सार्वजनिक रूपमा नै घोषणा गरेको छ । यस्तो परिस्थितिमा उम्मेदवारमाथि भएको आक्रमण र घोषित रूपमा नै आक्रमण गर्ने समूहप्रति सुरक्षा निकायको निगरानी कमजोर भएको प्रस्ट देखिन्छ ।

निर्वाचनको दौरानमा उम्मेदवारमाथि भएको आक्रमणका दोषीलाई कारबाही गर्ने पाटोमा सरकारले प्रतिबद्धता जनाउने गरे पनि सबै उम्मेदवारको सुरक्षाका विषयमा ध्यान दिएको देखिँदैन । उम्मेदवारहरूले असुरक्षित हुँदै मतदाताकहाँ पुग्नु पर्दा निर्वाचन शान्तिपूर्ण हुनेमा मतदाता ढुक्क हुन सक्दैनन् । उम्मेदवारमाथिको आक्रमणले मतदातामा समेत आफू असुरक्षित हुने भय उब्जिएको छ । निर्वाचन आयोगले सुरक्षा निकायलाई यसतर्फ ध्यानाकर्षण गराउन र सरकारले त्यसको उचित व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । उम्मेदवारको आक्रमणमा संलग्न समूहको विषयमा सुरक्षा निकायले पक्राउ गरेका व्यक्तिहरू सार्वजनिक गरेर कारबाही गर्नुपर्छ । विगतका निर्वाचनमा एक अर्काे राजनीतिक दलका बीचमा आक्रमणका घटना हुने गरे पनि यस निर्वाचनमा भने घोषित रूपमा नै निर्वाचन बिथोल्ने समूह रहेकाले त्यसतर्फ विशेष निगरानी गर्नु आवश्यक छ । सरकारले सबै उम्मेदवारको सुरक्षामा कुनै कमी नआउने गरी सुरक्षा व्यवस्था मिलाउन विलम्ब नगरौं ।

आजको राजधानी दैनिकको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*