आश्विन २३, २०७४-धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो संस्करणमा रुस्लान क्रिकेट प्रमुख प्रायोजक बनेको छ । प्रमुख प्रायोजक भए बापत विजय डिस्टिलरीको रुस्लानले डीपीएल आयोजक धनगढी क्रिकेट एकेडमी (डीसीए) लाई ७० लाख रुपैयाँ उपलब्ध गराउनेछ । त्यसमा ३५ लाख नगद तथा बाँकी जिन्सी र प्रबन्धनमा रहेको छ । 

डीपीएलको पहिलो संस्करणमा सगरमाथा सिमेन्ट प्रमुख प्रायोजक थियो । नेपालमा पहिलोपटक सिटी अवधारणाअनुसार डीपीएलको पहिलो संस्करण आयोजना पछि रुस्लान डीपीएलसँग जोडिएको हो । विजय डिस्टिलरी प्रमुख प्रायोजकका रूपमा जोडिएपछि प्रतियोगिताको नाम रुस्लान धनगढी प्रिमियर लिग हुनेछ । 

आइतबार पत्रकार सम्मेलनमा डीसीएका अध्यक्ष सुवास शाही र विजय डिस्टिलरीका निर्देशक श्रीहरशमशेर राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि रहेको छ । डीसीए अध्यक्ष शाहीले प्रमुख प्रायोजकसँगको यो सम्झौता लम्बिन खासै गाह्रो नहुने जनाए ।

डीपीएलको दोस्रो संस्करण माघ ५ गतेदेखि सञ्चालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलिरहेकाले डीपीएलको मिति तलमाथि हुन सक्ने आयोजकले जनाएको छ ।

डीपीएल सर्वाधिक धनराशिको हुनेछ र कुल ३ करोड बजेट रहेको यस प्रतियोगितामा नगद पुरस्कार मात्र झन्डै ५० लाख रुपैयाँ राखिएको छ । विजेताले २५ र उपविजेताले १० लाख नगद पाउनेछन् । तेस्रो हुनेले ३ र चौथो हुनेले २ लाख रुपैयाँ पाउनेछन् । गत वर्ष डीपीएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पाएका थिए । त्यस समयमा नेपाली क्रिकेटको यो सर्वाधिक धनराशिको पुरस्कार थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*