काठमान्डौ, अशोज २ || संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले नगरपालिका तथा गाउँपालिकाहरुलाई एफएम रेडियो व्यवस्थापन कार्यविधि तयार गरि प्रसारणमा पूर्व प्रतिवन्ध लगाउने समेतका नियन्त्रणमुखी प्रावधान राखेको प्रति  रेडियो प्रसारक समिति संघ नेपाल (ACORAB ) ले  आपत्ति जनाएको छ । 

रेडियो प्रसारक समिति संघ नेपालले   विज्ञप्ति मार्फत   नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको उपभोगका निम्ति क्रियाशिल सामुदायिक रेडियोहरुले अन्य आमसञ्चार माध्यमको पहुँच नपुगेको स्थानमा समेत नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह  गर्दै  आएका  र  स्थानिय भाषा संस्कृतिको संरक्षणका साथै सकारात्मक सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान दिंदै   आएका समुदायको लगानी  रहेको एफएम रेडियोको जगेर्नामा  सहयोग गर्नुको साटो सरकार अनावश्यक कर र रोयल्टी लिनमा तल्लिन रहेको जिकिर गर्दै  उक्त एफएम रेडियो व्यवस्थापन कार्यविधि प्रति आफुहरुको  गम्भीर  ध्यानाकर्षण भएको  जानकारी दिएको छ ।

नेपालको  संविधान र राष्ट्रिय आम सञ्चार नीति २०७३, प्रतिकुल हुनेगरी कार्यविधिले एफएम रेडियोले प्रसारण गर्ने विषयबस्तु एवं सञ्चालनको नीति निर्माण गर्ने, प्रसारणसम्बन्धी कार्यक्रमको रेखदेख र सञ्चालन समेत नगरपालिका र गाउँपालिकाबाट गर्ने व्यवस्था गरिएको छ । आम सञ्चार माध्यमबाट प्रकासन तथा प्रसारण भएका सामग्रीमा चित्त नबुझे गुनासो गर्ने निकाय प्रेस काउन्सील हुँदा हुँदै कार्यविधिले एफएम रेडियो प्रसारणमा रोक लगाउने अधिकार समेत गाउँपालिका र नगरपालिकालाई दिनु साथै स्थानिय तहलाई नै एफएम रेडियोको अनुगमन गर्ने अधिकारको प्रावधान राख्नु संविधान विपरित र नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता माथि ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर  गर्दै   प्रेस स्वतन्त्रता बिरोधी यस्ता कृयाकलापले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने धारणा समेत विज्ञप्तिमा प्रस्तुत गरिएको  छ ।

आफ्नो  कार्यक्षेत्र बाहिर गएर एफएफ रेडियोलाई नियन्त्रण गर्ने एवं नागरिक प्रति जवाफदेही स्थानिय सरकारको भूमिकालाई नै बदनाम गराउन प्रेरित गर्ने यस्तो कार्यविधि तत्काल फिर्ता लिन   संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय समक्ष आग्रह गरेको गर्दै    संघका अध्यक्ष सुवास खतिवडाको हस्ताक्षर सहित बिज्ञप्तिमा  उक्त  कार्यविधि तत्काल फिर्ता नलिएमा सामुदायिक रेडियो प्रसारक संघ आन्दोलनमा उत्रन बाध्य हुने समेत जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*