१९ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले भने, ‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं ।’ साथै उनले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने बताए । उनका अनुसार नेपालगञ्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको छ ।

काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला मर्मत सम्भार भइरहेको छ ।खेलकुदमन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । उनले भने, ‘खेलकुद क्षेत्रमा विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।’

केसीले खेलकुद क्षेत्रमा कुनैपनि हालतमा राजनीति हुन नहुने धारणा राखे । उनले अघि भने, ‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो, म सकेसम्म न्यूनिकरण गर्ने प्रयास गर्नेछु ।’खेलको विकास गर्नको लागि पर्याप्त बजेट अर्थात एक अर्ब ६० करोड छुट्याइएको समेत उनले जनाए । उनले भने,‘युवाहरुको लागि कम बजेट छ, तर खेलको विकासको लागि धेरै ठूलो बजेट छुट्याईएको छ, त्यही अनुसार अब हरेक खेलहरुको विकास र स्तरोन्नती हुन्छन्, मेरो कार्यकालमा म परिवर्तनको आभाष दिलाएरै छाड्छु।’
कार्यक्रममा क्लबका ऋषि धमलाले मन्त्री केसीलाई खादा ओढाएर सम्मान गरेका थिए । धमलाले मन्त्री केसीलाई खेलकुद क्षेत्रको विकासको लागि उल्लेखनीय परिवर्तन हुनेगरि परिणाममुखी काम गर्नको लागि आग्रह समेत गरेका थिए । उनले भने,‘खेल क्षेत्रमा देखिएका सबै खाले राजनीतिहरु अन्त्य गर्नुहोस, राष्ट्रको शीर उँचो पार्नेगरि खेलकुद क्षेत्रको विकास गर्नुहोस, हामी सबैको तपाईलाई साथ र सहयोग रहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*