
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रक्षामन्त्री बालकृष्ण खाणले पाँच नम्बर टुक्राउने योजनामा आफ्नो समर्थन नरहेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस अर्धाखाँची–काठमाडौं सम्पर्क तयारी समितिले आयोजना गरेको बनभोज कार्यक्रमलाई चोभारमा सम्बोधन गर्दै उनले प्रदेश टुक्रयाउने काम त्यो क्षेत्रका जनताको लागि पींडादायक भएको स्पष्ट पारे । ‘त्यसरी प्रदेश टुक्रयाउनु हुँदैन बरु थप्नचाँहि सकिन्थ्यो, यो काम मलाई पनि चित्त बुझेको छैन’ रुपन्देही – २ बाट निर्वाचित सांसदसमेत रहेका खाणले भने ‘मैले यो विषयलाई लिएर क्याबिनेटमा पनि कुरा गरें र पार्टी सभापतिलाई पनि भनें आफ्नो तर्फबाट भूमिका खेलिरहेको छु ।’
लुम्बिनीको धार्मिक महिमालाई अझ बलियो बनाउन पनि यो प्रदेशको विभाजन उपयुक्त नभएको उनको भनाई छ । संविधान निर्माण गर्दा ९० प्रतिशत सांसदको सहभागिता रहेको भन्दै उनले संविधान परिवर्तनशील दस्तावेज भउकाले आवश्यकताअनुसार संशोधन गर्न सकिनेमा जोड दिए तर उनले राष्ट्र र राष्ट्रिय एकतामा आँच आउने खालका काम गर्न नहुने बताए ।
कांग्रेसलाई आफ्नो नीति र सिद्धान्त बिर्सियो भनेर अन्य पार्टीहरुले आरोप लगाउने गरेकोतर्फ चिन्ता व्यक्त गर्दै उनले अरुले जतिसुकै ठूला कुरा गरेपनि कांग्रेस आफ्नो मूल मर्म र भावनाबाट पछि नहटेकोमा विश्वास दिलाए ।
२००५ सालमा नै विपी कोइरालाले संविधानसभाबाट संविधान बन्नुपर्छ भनेको प्रसंग कोट्याउँदै मन्त्री खाणले कांग्रेसको सक्रियतामा नै संविधानसभाबाट संविधान बनेको बताए । कोइरालाकै नेतृत्वमा २००७ सालमा जनक्रान्ति भएको भन्दै खाणले दुई छिमेकी देशसँग आपसी सम्वद्ध सुमधुर बनाउँदै जानुपर्नेमा उनले जोड दिए ।
त्यस्तै मन्त्री खाँणले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकोले अब निश्चिन्त रुपमा चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रतिक्रिया