
इनरुवा, २० असोज । कोरोनाको बढ्दो संक्रमणका बीच सरकारले सकेसम्म ‘जहाँ छौं त्यही बसौं’ भनेर आग्रह गरिरहेको छ । तर, सरकारी आग्रह सर्वसाधारणले खासै टेरेको देखिदैन् । स्वयं जिम्मेवार नेताहरुले समेत सरकारी निर्णयको वेवास्ता गर्ने गरेका छन् । जसको ज्वलन्त उदाहरण यतिबेला सुनसरीमा चलेको पार्टी प्रवेशको लहरले पुष्टि गर्छ ।
नेपाल सरकारले लक डाउन खोलेपनि कोरोनाको जोखिम नघटेकाले सकेसम्म भीडभाड नगर्न भनेको छ । यद्यपि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न गरिएको सरकारी आग्रह स्वयं नेताहरुलेनै पालना गरिरहेको देखिदैन् ।
सुनसरीमा पछिल्लो केही सातायता दैनिकजसो आयोजना भइरहेका पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षण र भेला जस्ता कार्यक्रममा सर्वसाधारणको उपस्थिति बाक्लो देखिन थालेको छ । पार्टीका उच्च ओहोदाका नेताहरु समेतको उपस्थितिमा त्यस्ता कार्यक्रमहरु धमाधम भइरहेका छन् ।
नेपाली काँग्रेस मात्र नभएर सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेश कार्यक्रममा व्यस्त देखिएका छन् । पछिल्लो एक सातायता मात्रै इनरुवाका विभिन्न वडासहित भोक्राहा नरसिंह, हनिरगर क्षेत्रमा पार्टी प्रवेश कार्यक्रम आयोजना भइसकेका छन् ।
अन्य विभिन्न पालिकामा समेत पार्टी प्रवेश कार्यक्रम भएका छन् । केहीमा सञ्चालनको तयारीमा रहेको नेताहरुले बताएका छन् । आयोजकहरुले स्वास्थ्य मापदण्ड अपनाई कार्यक्रम आयोजना गरिएको दाबी गरेपनि कार्यक्रम स्थलमा अत्याधिक भीडभाड स्पष्ट देख्न सकिन्छ । भौतिक दूरीको पूर्ण पालना गरेको देखिदैन् भने मास्क तथा साबुन पानीको अनिवार्यता गरिएको पाइदैन् ।
जसलाई कार्यक्रममा उपस्थित धेरैले नभएनी केहीले मौन बिरोध भने जनाउने गरेका छन् । लकडाउन खुलेर चहलपहल बढ्दै जाँदा संक्रमितको संख्या बढ्दै गएको प्रति स्वयं सजक रहन आवश्यक रहेको बताउने स्वास्थ्य कार्यालय सुनसरी सर्वसाधारणमा हेलचेक्राई बढेको बताउँछ ।
स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाई कोरोना समुदाय स्तरमा प्रवेश गरिसकेकाले स्वयं सचेत रहनु बाहेकको विकल्प नरहेको बताउँछन् । उनले पार्टी प्रवेश तथा प्रशिक्षणका नाममा आयोजित कार्यक्रममा बढ्दो भीडले समुदायमा कोरोनाको थप जोखिम बढन् सक्ने भन्दै सरोकारवालाहरु सचेत हुन आवश्यक रहेको बताए ।
उनले सो विषयमा प्रशासन समक्ष जानकारी समेत गराई सकिएको बताए । उता सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले समेत पार्टीका कार्यक्रममा भीडभाड बढेको विषय आफूकहाँ जानकारीमा आएको बताएका छन् ।
पर्याप्त मात्रामा स्वास्थ्य सावधानी नअपनाई आयोजना गरिने कार्यक्रमले कोरोनाको जोखिम बढाउने तर्फ सचेत रहन आवश्यक रहेको उनले बताए । पोखरेलले लकडाउन खुलेसँगै बेपरवाह बन्दै गएको भीडले समाजमा भयावह अवस्था निमत्याउन सक्नेतर्फ सजक हुनुपर्ने अवस्था आइसकेको बताए ।
प्रजिअ पोखरेलले भने, ‘भित्रभित्रै कोरोना फैलिरहेको छ । त्यसैले सानो चुकले अवस्था भयावह हुन सक्छ । काम विशेषले कार्यालय बाहिर आएको छु । फर्कना साथ जिल्ला स्थित दलका नेताहरुलाई राखेर त्यस विषयमा छलफल गरी ठोस कदम चाल्ने छु ।’ -अमर काफ्ले

प्रतिक्रिया