
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताएका छन् ।
मंगलबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकसम्बद्ध संघ–संस्थाका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताए ।
मन्त्री श्रेष्ठले असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकको जीवनयापनलाई सहज बनाउन सहयोग गर्ने उनको भनाइ छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारहरूको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गरे ।
चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रूपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकैपटक नपाउने र बचत पनि कम हुने बताए ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोनाभाइरस महामारीका कारण चलचित्र निर्माण ठप्प भएसँगै प्राविधिकहरू बेरोजगार बनेको बताए ।
कलाकार र प्राविधिकसम्बद्ध संघ–संस्थाका पदाधिकारीहरूले नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया